-पासाङ ग्याल्जेन लामा- शेर्पा समुदायमा बच्चाको जन्मलाई खुसियालीको
रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा
पुरोहीत बोलाई नया बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ । बच्चाको
नामाकरण साधरणतया शेर्पा भाषाका बारहरुको नामको आधारमा गरीन्छ जस्तो निमा, दावा,
मिङमार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा । यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र
नारीको नाम आपसमा मिल्छ।
नानीको न्वारानमा आफ्ना नातागोताहरु, साथीहरु र छिमेकीहरु जम्मागरि भोज खुवाउने
चलन छ । नानीको न्वारानमा आएकाहरुले पनि नानीको लागी कोसेली वा खाम्मा केही रकम
राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खता लगाई दिने
चलन छ । शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन । गाउँघर तिर न्वारान गर्दा लामो
रुखको बिरुवा ल्याई सो मा धजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए
बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनीन्छ ।
|